घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालय
रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका बिरामी पहिचान गर्न चिकित्सालयले सो काम सुरु गरेको हो । अस्पतालमा बिरामीको सङ्ख्या कम हुने बित्तिकै स्वास्थ्यकर्मी गाउँ पस्छन् र स्थानीयलाई आयुर्वेदिक उपचारको बारेमा जानकारी गराउँदै नसर्ने रोगका बिरामी पहिचान गरी उपचारको लागि स्वास्थ्य संस्थामा बोलाउँछन् । ‘उपचारका बारेमा थाहा नै नभएर मानिसहरू रोग सहेर बसेका छन्, त्यसैले उहाँहरूलाई नसर्ने रोग पनि उपचार गर्दा निको हुन्छ भन्ने सन्देश दिन र बिरामीको पहिचान गरी उपचारका लागि बोलाउन घर घरमा जाने गरेका छौँ’, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीकी प्रमुख डा. पुनम नेपाल बताइन् ।
चिकित्सालयले घरघरमा स्वास्थ्यकर्मी पठाएर सर्वसाधारणको उच्च रक्तचाप र मधुमेह (सुगर) को जाँच तथा पायल्स, फिस्टुला, ग्यास्टिकलगायतका नसर्ने रोगका बिरामीको पहिचान गर्ने गरेको छ । त्यस्ता पहिचान गरिएका बिरामीलाई उपचारको लागि स्वास्थ्य संस्थामा बोलाइने गरिएको डा. नेपालले बताइन् । ‘आइतबारदेखि बुधवारसम्म चिकित्सालयमा नै बिरामीको चाप हुन्छ, बिहीबार र शुक्रवार बिरामीको चाप अलि कम हुने गर्दछ, त्यस्तो बेलामा स्वास्थ्यकर्मीले घरमा, घरमा नै गएर जाँच गरी नसर्ने रोगका बिरामी पहिचान गर्ने र रोग देखिएकालाई चिकित्सालयमा बोलाउन सुरु गरेका छौँ’, नेपालले भनिन्।
अस्पतालकै आसपासमा पनि नसर्ने रोगका धेरै बिरामी भएका बताउँदै उनले प्रचारको कमी र जानकारीको अभावले धेरै मानिसहरू रोग बोकेरै बस्ने गरेका पाइएको नेपालले बताइन् । ‘अस्पतालकै वरिपरि पनि प्रेसर, सुगर, बाथ, हाड जोर्नी, ग्यास्ट्रिक, पायल्स, फिस्टुला लगायतका रोगको समस्या भएका धेरै बिरामी भेटिएका छन्, तर समयमा उपचार गराउन आउँदैनन्’, उनले भनिन्।
कतिपय बिरामीहरूले लाजको कारण पनि रोग लुकाउने गरेको पाइएको उनको भनाइ छ । ‘मलद्वारसँग सम्बन्धित रोगको लागि हरेक महिनाको अन्तिम शनिवार विशेषज्ञ डाक्टर ल्याएर अप्रेसनको सेवा दिएका छौँ, लाजको कारण कम मात्र बिरामी आएका छन्’, उनले भनिन् ।
पायल्स लगायतका मलद्वारका रोगको समयमा नै उपचार गर्दा पूर्णरुपमा निको हुने उनले बताइन् । तर समयमा नै उपचार नगरी घाउ बिग्रिएमा क्यान्सर भएर ज्यान जानेसम्मको जोखिम हुने उनको भनाई छ ।नसर्ने रोगको पहिचान बेलैमा भए सजिलै उपचार हुने चिकित्सालयका डा. मनिकण्ड गौतम बताउँछिन्। तर उपचारमा ढिलो हुँदा रोग निको पार्न निक्कै कठिन हुने र ‘समयमा नै उपचारको लागि आउँदा छोटो समयको उपचार र औषधीले निको हुन्छ, रोग छिप्पिँदै गएपछि निको पार्न निक्कै कठिन हुने गौतमले भनिन् ।
सीमित साधन र स्रोतका बिचमा नसर्ने रोगका बिरामी पहिचानको लागि घरदैलो कार्यक्रम सुरु गरिएको चिकित्सालयका सूचना अधिकारी दीपक कार्की बताउँछन् । ‘जनशक्ति पनि सीमित छ, मधुमेह जाँच गन किड्स चाहिन्छ, त्यो हामीसँग सीमित हुन्छ, तथापि चिकित्सालय आसपासका क्षेत्रमा यस्तो जाँच सुरु गरेका छौँ, यसलाई बढाउँदै लैजाने सोचमा छौँ’, कार्कीले भने ।
चिकित्सालयका अध्यक्ष नवराज पथिक केही काम साङ्केतिक रूपमा सुरु गरिएको बताउँदै यसलाई व्यवस्थित रूपमा अघि बढाउन सबैभन्दा पहिला चिकित्सालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउँछन् । यसको लागि प्रदेशको स्वास्थ्य मन्त्रालय, स्थानीय सरकार लगायत सरोकारवालासँग पहल गरिएको बताउँदै उनले केही समयमा नै परिणाम देखिने गरी काम हुने जानकारी दिए।
रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको सार्वजनिक सुनुवाइमा गुनासो, प्रश्न र सुझाव राख्न आएका वडावासीले वडा तथा नगरबाट सुकाजोरमा संचालनमा रहेका विकास निर्माणमा भएको ढिलासुस्तीलाई चाँडो सम्पन्न गर्न अनुरोध गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास लगायतका काममा नागरिकसँग थप समन्वय गरेर काम गर्न सुझाव दिएका थिए । उनीहरूले सेलेघाट–साँघुटार सडकलाई गुणस्तरीय निर्माणमा ध्यान दिई चाँडो निर्माण सक्न सम्बन्धित निकायलाई खबरदारी गर्न, रजयछाप आगलागीबाट घरविहीन भएकाहरूलाई चाँडो घर बनाउन पहल गर्न, एम्बुलेन्स जान नसक्ने विभिन्न टोलमा सडक सुधार गर्न, किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको उचित मूल्य तोकिदिन लगायतका सुझाव दिएका थिए ।
सुकाजोरले चालु आर्थिक वर्षको सुरु देखि हाल सम्ममा वडाबाट भएका विकास निर्माणको अवस्था, वडाबाट प्रवाह भएका सेवा प्रवाहको गुणस्तरीयता र वडा नं ७ मा नगरबाट संचालनमा रहेका विभिन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाइ मार्फत स्थानीय नागरिकको सहभागितामा सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को हाल सम्ममा वडा तथा नगरबाट वडा भित्र संचालनमा रहेका विकास निर्माणका योजना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सोमबार वडा कार्यालयको प्राङ्गणमा सुकाजोरबासीको सहभागितामा उनीहरूबाट आएका प्रश्नको उत्तर दिँदै सुझाव लिएर वडालाई थप सुशासनमैत्री बनाउँदै अगाडि बढ्ने उद्देश्य सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडामा चालु आर्थिक वर्षको सुरु देखि हाल सम्ममा प्रवाह भएका सेवा तथा संचालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा रामेछाप नगरपालिका वडा नं ७ का वडा सचिव अम्बिका कार्कीले जानकारी गराएकी थिइन् ।
सुकाजोरमा नगरबाट भएका काम र सेवा प्रवाहको बारेमा राखेका विभिन्न जिज्ञासा तथा प्रश्नको बारेमा रामेछाप नगरपालिकाका नगर उपप्रमुख बालकुमारी कार्की थापाले उत्तर दिँदै वडा नं ७ को विकासलाई नागरिकहरूले दिएका सुझावलाई आत्मसात् गर्दै सिंगो नगरको टिमले पुरा गर्ने धारणा व्यक्त गरिन् । नगर उपप्रमुख कार्कीले नागरिकहरूले उठाएका विभिन्न गुनासा र सुझावहरूलाई कार्यान्वयन गर्न नागरिकको समेत सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा नगर र वडाबाट हुने काममा नागरिकलाई साथ दिन अनुरोध गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले नागरिक तहबाट नगर र वडाको लागि दिएका सुझावलाई नगरपालिका आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागीले वडाबाट संचालनमा रहेका योजना तथा सेवा प्रवाहमा केन्द्रित भएर राखेका प्रश्न तथा जिज्ञासाको बारेमा रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले आफ्नो भनाई राख्दै नागरिकले उठाएका प्रश्न र विभिन्न जिज्ञासालाई आगामी दिनमा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । वडा विकासको लागि आफू एउटा प्रतिनिधि मात्रै भएकाले सबै नागरिकले साथ दिनु पर्नेमा जोड दिएका छन् । उनले समृद्ध वडा बनाउनको लागि स्थानीय नागरिकहरूसँग हातेमालो गर्न आफू तयार रहेको धारणा राख्दै त्यो अभियानमा सबैले साथ दिनु पर्ने भनाइ राखे । उनले गएको वर्ष देखि नै वडाले नै सुरु गरेको नागरिकहरूको स्वास्थ्य बिमा गरिदिने, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा दिने, लगायतका कार्यक्रमलाई निरन्तर रूपमा यो वर्ष पनि संचालनमा रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, नेपाली काँग्रेस रामेछाप नगरपालिकाका वडा नं ७ का नगर उपसभापति पेशल कार्की, नेकपा एमाले रामेछाप नगर कमिटी सदस्य तुलसा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि अरुण कार्की लगायतले थप सुशासनमैत्री बनाउन जनप्रतिनिधि र कर्मचारी सँगै आम नागरिकको पनि त्यतिकै जिम्मेवारी हुने भएकाले सबैले समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
रामेछाप नगरपालिका ७ नं वडा कार्यालय सुकाजोरको आयोजनामा भएको कार्यक्रमको सहजीकरण प्रहार मिडिया प्रा.लिले गरेको थियो ।




