समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलि घरघरमा बिरामीको परीक्षण गर्दै

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका बिरामी पहिचान गर्न चिकित्सालयले सो काम सुरु गरेको हो । अस्पतालमा बिरामीको सङ्ख्या कम हुने बित्तिकै स्वास्थ्यकर्मी गाउँ पस्छन् र स्थानीयलाई आयुर्वेदिक उपचारको बारेमा जानकारी गराउँदै नसर्ने रोगका बिरामी पहिचान गरी उपचारको लागि स्वास्थ्य संस्थामा बोलाउँछन् । ‘उपचारका बारेमा थाहा नै नभएर मानिसहरू रोग सहेर बसेका छन्, त्यसैले उहाँहरूलाई नसर्ने रोग पनि उपचार गर्दा निको हुन्छ भन्ने सन्देश दिन र बिरामीको पहिचान गरी उपचारका लागि बोलाउन घर घरमा जाने गरेका छौँ’, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीकी प्रमुख डा. पुनम नेपाल बताइन् ।
चिकित्सालयले घरघरमा स्वास्थ्यकर्मी पठाएर सर्वसाधारणको उच्च रक्तचाप र मधुमेह (सुगर) को जाँच तथा पायल्स, फिस्टुला, ग्यास्टिकलगायतका नसर्ने रोगका बिरामीको पहिचान गर्ने गरेको छ । त्यस्ता पहिचान गरिएका बिरामीलाई उपचारको लागि स्वास्थ्य संस्थामा बोलाइने गरिएको डा. नेपालले बताइन् । ‘आइतबारदेखि बुधवारसम्म चिकित्सालयमा नै बिरामीको चाप हुन्छ, बिहीबार र शुक्रवार बिरामीको चाप अलि कम हुने गर्दछ, त्यस्तो बेलामा स्वास्थ्यकर्मीले घरमा, घरमा नै गएर जाँच गरी नसर्ने रोगका बिरामी पहिचान गर्ने र रोग देखिएकालाई चिकित्सालयमा बोलाउन सुरु गरेका छौँ’, नेपालले भनिन्।
अस्पतालकै आसपासमा पनि नसर्ने रोगका धेरै बिरामी भएका बताउँदै उनले प्रचारको कमी र जानकारीको अभावले धेरै मानिसहरू रोग बोकेरै बस्ने गरेका पाइएको नेपालले बताइन् । ‘अस्पतालकै वरिपरि पनि प्रेसर, सुगर, बाथ, हाड जोर्नी, ग्यास्ट्रिक, पायल्स, फिस्टुला लगायतका रोगको समस्या भएका धेरै बिरामी भेटिएका छन्, तर समयमा उपचार गराउन आउँदैनन्’, उनले भनिन्।
कतिपय बिरामीहरूले लाजको कारण पनि रोग लुकाउने गरेको पाइएको उनको भनाइ छ । ‘मलद्वारसँग सम्बन्धित रोगको लागि हरेक महिनाको अन्तिम शनिवार विशेषज्ञ डाक्टर ल्याएर अप्रेसनको सेवा दिएका छौँ, लाजको कारण कम मात्र बिरामी आएका छन्’, उनले भनिन् ।
पायल्स लगायतका मलद्वारका रोगको समयमा नै उपचार गर्दा पूर्णरुपमा निको हुने उनले बताइन् । तर समयमा नै उपचार नगरी घाउ बिग्रिएमा क्यान्सर भएर ज्यान जानेसम्मको जोखिम हुने उनको भनाई छ ।नसर्ने रोगको पहिचान बेलैमा भए सजिलै उपचार हुने चिकित्सालयका डा. मनिकण्ड गौतम बताउँछिन्। तर उपचारमा ढिलो हुँदा रोग निको पार्न निक्कै कठिन हुने र ‘समयमा नै उपचारको लागि आउँदा छोटो समयको उपचार र औषधीले निको हुन्छ, रोग छिप्पिँदै गएपछि निको पार्न निक्कै कठिन हुने गौतमले भनिन् ।
सीमित साधन र स्रोतका बिचमा नसर्ने रोगका बिरामी पहिचानको लागि घरदैलो कार्यक्रम सुरु गरिएको चिकित्सालयका सूचना अधिकारी दीपक कार्की बताउँछन् । ‘जनशक्ति पनि सीमित छ, मधुमेह जाँच गन किड्स चाहिन्छ, त्यो हामीसँग सीमित हुन्छ, तथापि चिकित्सालय आसपासका क्षेत्रमा यस्तो जाँच सुरु गरेका छौँ, यसलाई बढाउँदै लैजाने सोचमा छौँ’, कार्कीले भने ।
चिकित्सालयका अध्यक्ष नवराज पथिक केही काम साङ्केतिक रूपमा सुरु गरिएको बताउँदै यसलाई व्यवस्थित रूपमा अघि बढाउन सबैभन्दा पहिला चिकित्सालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउँछन् । यसको लागि प्रदेशको स्वास्थ्य मन्त्रालय, स्थानीय सरकार लगायत सरोकारवालासँग पहल गरिएको बताउँदै उनले केही समयमा नै परिणाम देखिने गरी काम हुने जानकारी दिए।

Shares:

Related Posts

समाचार

८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख
समाचार

रामेछाप नगरपालिकाको चालु आर्थिक वर्षमा ३३.९१ प्रतिशत रकम खर्च

रामेछाप । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना बित्दा जिल्लाको रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत मात्रै भएको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा
समाचार

चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।दुई
समाचार

‘देशमा अबको विकल्प कांग्रेस मात्रै हो ’ : प्रवक्ता रुवाली

रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *