समाचार

रामेछाप बस दुर्घटना प्रकरण : चालकलाई कडा कारबाही, पीडितलाई क्षतिपूर्ति र खोजीकार्य तीव्र पार्ने निर्णय

रामेछाप — मन्थली नगरपालिका–६ त्रिवेणी मन्दिर नजिक तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा भएको दुःखद दुर्घटनापछि जिल्ला सुरक्षा समितिले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, बेपत्ता यात्रुको खोजी तीव्र पार्ने तथा दोषीमाथि कडा कारबाही अगाडि बढाउने निर्णय गरेको छ।

मिति २०८२।१०।२७ गते बसेको जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रालि, राजनीतिक दल, जनप्रतिनिधि तथा जिल्लावासी सरोकारवालाको संयुक्त बैठकले दुर्घटनापछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न विभिन्न निर्णय सार्वजनिक गरेको हो।

बैठकले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने गरी आवश्यक व्यवस्था मिलाउन यातायात सेवा प्रालिलाई निर्देशन दिइएको छ। मृतकका परिवारलाई प्रचलित कानुनअनुसार पाउने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने र थप सहायताका विषयमा समेत समन्वय गर्ने निर्णय गरिएको छ।

अस्पतालमा रहेका मृतकको शव परीक्षण गरी आफन्तको सहमति र सहजीकरणमा दाहसंस्कारका लागि जिम्मेवारीपूर्वक हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ। दुर्घटनाका बेपत्ता यात्रुको खोजीकार्य जारी राख्ने र आवश्यक परे थप सुरक्षा निकाय परिचालन गर्ने निर्णयसमेत गरिएको छ।

दुर्घटनामा चालकको लापरबाही पुष्टि भए प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट गरिएको छ। पीडित पक्षले दाबी गरेका थप सुविधा तथा राहतका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक निर्णय लिने सहमति भएको छ। साथै पीडित पक्षबाट उठाइएका माग तथा निवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरिएको छ।

बैठकले आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि सवारी सञ्चालन र सडक सुरक्षामा कडाइ गर्ने निर्णयसमेत गरेको छ। यात्रुको जीवन जोखिममा पार्ने गरी सवारी साधन चलाएको पाइए दर्ता खारेजीसम्मको सिफारिस गर्ने, स्थानीय तहमा सवारी सञ्चालन व्यवस्थापन मजबुत बनाउने र यातायात व्यवसायी तथा समितिलाई जिम्मेवार बनाउने निर्णय गरिएको छ।

जिल्ला प्रवेश गर्ने तथा जिल्लाभित्र सञ्चालन हुने सवारी साधनलाई सीमा नाका र चेकजाँच बिन्दुमा अनिवार्य जाँच गर्ने, यात्रुको संख्या, प्रवेश समयलगायतका विवरण अभिलेख राख्ने व्यवस्था मिलाइने बताइएको छ। जोखिमयुक्त मोड, पुल र सडक खण्ड पहिचान गरी मर्मत तथा चेतावनी संकेत राख्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत भएको छ।

सवारी साधनको नियमित प्राविधिक परीक्षण, चालकको योग्यता तथा स्वास्थ्य परीक्षण, गति नियन्त्रण र ओभरलोड अनुगमनमा कडाइ गरिने उल्लेख छ। यात्रुवाहक सवारीमा व्यावसायिक प्रयोजनका लागि अनधिकृत रूपमा सामग्री ढुवानी गर्न नदिने विषयमा समेत निर्णय गरिएको छ।

दुर्घटनापछि जिल्लामा शोकको वातावरण रहेकाले सरोकारवालाहरूले सडक सुरक्षामा दीर्घकालीन सुधार आवश्यक रहेको बताएका छन्। जिल्ला सुरक्षा समितिले निर्णय कार्यान्वयनमा सबै पक्षलाई सक्रिय सहयोग गर्न आग्रह गरेको छ।

Shares:

Related Posts

समाचार

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम
समाचार

सम्पर्क बिहीन हायु परिवारकोअन्तिम लोकेसन रामेछापको सिमन्टीछाप भन्ने ठाउँ देखियो

काठमाडौं । सम्पर्क विहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्टीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ ।गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने
राजनीति

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।मन्थली नगरपालिकामा भएको न्यायिक समितिको
समाचार

लिखु गाउँपालिकाले ग¥यो पालिका गानको लागि रचनाको माग

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *