समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आउँदै मतपत्र
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक पर्ने महत्वपूर्ण सामग्री मतपत्र सोमबार साँझसम्म जिल्ला आइपुग्ने भएको छ । जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार निर्वाचन आयोगबाट प्राप्त हुने १४ थरी र कार्यालय आफैँले व्यवस्थापन गर्ने ३७ थरी सामग्रीमध्ये मतपत्र बाहेकका अधिकांश सामग्री यसअघि नै जुटिसकेका छन् । आइतबार सदरमुकाम मन्थलीमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले मतपत्र प्राप्त भएसँगै सुरक्षा घेराभित्र भण्डारण गरी मतदान केन्द्र पठाउने तयारी भइरहेको जानकारी दिए ।
निर्वाचनलाई व्यवस्थित र धाँधलीरहित बनाउन जनशक्ति व्यवस्थापनको काम पनि समानान्तर रूपमा अघि बढाइएको छ । जिल्लाभरका मतदान केन्द्रमा कुल १ हजार ३७४ जना कर्मचारी परिचालन गरिने लक्ष्य राखिएको छ । यसका लागि २३० मतदान अधिकृत, २३० सहायक मतदान अधिकृत, ६८४ सहायक कर्मचारी र १३० सहयोगी कर्मचारी आवश्यक पर्नेछन् । कार्यालयले कर्मचारीका साथै जिल्लाका शिक्षकहरू समेत समेटेर २ हजार ७४ जनाको प्रारम्भिक विवरण मुख्य निर्वाचन अधिकृतलाई उपलब्ध गराइसकेको छ । तीमध्येबाट अन्तिम छनोट गरी नियुक्तिको प्रक्रिया अगाडि बढाइने र छनोट भएका कर्मचारीलाई फागुन १२ देखि १४ गतेसम्म मन्थली माध्यमिक विद्यालयमा विशेष प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।
यसपटकको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी अस्थायी मतदान केन्द्रको व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ । जिल्लाभर कुल २ हजार ४२२ जना अस्थायी मतदाता सूचीकृत भएका छन्, जसमा ३९ जना कारागारका कैदीबन्दी समेत समावेश छन् । उनीहरूका लागि जिल्ला कारागार र सघन सहरी तथा भवन निर्माण कार्यालयमा गरी दुईवटा छुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै, निर्वाचनमा हुने खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन आयोगले उम्मेदवारहरूका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने नियम लगाएको छ । रामेछापमा चुनावी प्रतिस्पर्धामा रहेका १७ उम्मेदवारमध्ये आइतबारसम्म ११ जनाले बैंक खाता खोल्न सिफारिस कार्यालयबाट लगिसकेका छन् ।
जिल्लाको समग्र भूगोललाई समेट्ने गरी यसपटक ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्रहरू तोकिएका छन् । १ लाख ८७ हजार ९५२ जना मतदाता रहेको यस जिल्लामा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षा निकाय र अन्य सरोकारवालासँगको समन्वयलाई तीव्र बनाइएको छ । मतदानपश्चात् संकलन गरिने मतपेटिकाहरूलाई विगतका निर्वाचनमा झैँ मन्थलीस्थित मालपोत कार्यालयमा राखेर मतगणना गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन अधिकृत लामिछानेले मतदाता शिक्षाका लागि स्वयंसेवक र विभिन्न समितिमार्फत सचेतनामूलक कार्यक्रमहरू गाउँगाउँसम्म पु¥याइएको दाबी गरे । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन र सुरक्षा संयन्त्रले पनि आफ्नो गस्ती र निगरानी बढाएका छन् ।

Shares:

Related Posts

समाचार

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली
समाचार

आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता सुरु

रामेछाप । खाँडादेवी गाउँपालिकामा शुक्रवारबाट आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता सुरु भएको हो । रामेछाप तेक्वान्दो आइ टि एफ को आयोजना तथा खाँडादेवी गाँउपालिका र खाँडादेवी गाउँपालिका वडा नं
समाचार

बीपी राजमार्ग एक महिनाका लागि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान
समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *