रामेछाप । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी यस्तो रणनीतिक गोटी चालेको छ, जसले नेपालीे राजनीतिक वृत्तमा तरङ्ग पैदा गरिदिएको छ। सोमबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले दिएको कडा र अनुशासित निर्देशनले कांग्रेस अब परम्परागत शैलीबाट माथि उठेर ‘माइक्रो–म्यानेजमेन्ट’ मा लागेको प्रष्ट पारेको छ।
नेता घिमिरेले सम्पूर्ण नेता र कार्यकर्ताहरूलाई फागुन १ गतेदेखि २१ गतेसम्म अनिवार्य रूपमा आ–आफ्नो मतदान स्थल (बुथ) मा केन्द्रित हुन र त्यहाँको बस्तुस्थिति नियन्त्रणमा लिन ‘विशेष फर्मान’ जारी गरेका छन्।
राजनीतिक विश्लेषकहरूले यसलाई कांग्रेसको ‘बङ्कर रणनीति’ का रूपमा व्याख्या गरेका छन्। नेता घिमिरेका अनुसार, यो २१ दिनको अवधि कांग्रेसका लागि केवल प्रचार गर्ने समय होइन, बरु आफ्नो किल्ला सुरक्षित गर्ने र मतदाताको मनमा बसेका भ्रम चिर्ने समय हो।
कार्यकर्ता तथा नेताहरू २१ दिनसम्म आफ्नो मतदान क्षेत्र भन्दा बाहिर जान पाउने छैनन्। उनीहरूले प्रत्येक घरधुरीको अवस्था, मतदाताको मनोविज्ञान र विपक्षीको चलखेलको पलपलको रिपोर्टिङ केन्द्रलाई गर्नुपर्नेछ। फागुनको यो अवधिमा नेताहरूलाई आफ्नै क्षेत्रमा खटाउँदा आन्तरिक असन्तुष्टि व्यवस्थापन हुने र सबै शक्ति एकै ठाउँमा केन्द्रित हुने कांग्रेसको विश्वास छ।
“भाषण मञ्चबाट होइन, आँगनबाट“ भन्ने नयाँ नाराका साथ कांग्रेसले यस पटक मतदाताको दैलोमै २१ दिन बिताउने योजना बनाएको हो। पत्रकार सम्मेलनमा केन्द्रीय प्रतिनिधि घिमिरेको प्रस्तुति निकै फरक र आक्रामक देखिन्थ्यो। उनले केवल पार्टीको गुणगान मात्र गाएनन्, कार्यकर्तालाई कडा अनुशासनको घेराभित्र समेत राखे। उनले भने, “अबको २१ दिन हाम्रा लागि अग्निपरीक्षा हो। जो नेता फागुन १ देखि २१ सम्म आफ्नो बुथमा भेटिँदैन, उसले कांग्रेसको निष्ठा बोकेको मानिने छैन। हामीलाई पद होइन, परिणाम चाहिएको छ।“
घिमिरेको यो ‘फिल्ड कमान्ड’ शैलीले रामेछाप कांग्रेसमा पनि एक प्रकारको सैनिक अनुशासनको आभास गराएको छ। उनले कांग्रेससँग चुनाव जित्ने कला र अनुभव दुवै रहेको दाबी गर्दै यस पटकको रणनीति विपक्षीले सोच्न समेत नसक्ने खालको रहेको सङ्केत गरे।
यस पटकको निर्वाचनमा कांग्रेसले रामेछापमा प्रयोग गरेको सबैभन्दा ठुलो अस्त्र भनेको उम्मेदवार रामचन्द्र खड्काको ‘स्वच्छ छवि’ हो। घिमिरेले खड्काको व्यक्तित्वलाई एउटा यस्तो ढालका रूपमा प्रस्तुत गरे, जसलाई विपक्षीको कुनै पनि आरोपले छेदन गर्न सक्दैन। जिल्लाको राजनीतिमा लामो समय सक्रिय रहेर पनि उनीमाथि एक पैसाको अपचलनको आरोप छैन। विपक्षी पार्टीका कार्यकर्ताहरूले समेत व्यक्तिगत रूपमा सम्मान गर्ने खड्काको शालीन स्वभाव नै कांग्रेसको ‘साइलेन्ट भोट’ तान्ने मुख्य कडी बनेको छ। अवसरवादी राजनीतिका बिचमा पनि खड्काले देखाएको चट्टानी अडान र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताले उनलाई ‘स्टेट्सम्यान’ को छवि दिएको छ। घिमिरेले भने, “हामीसँग बेच्नका लागि झुटा आश्वासन छैनन्, हामीसँग त रामचन्द्र खड्काजस्तो इमानदार अनुहार छ, जसलाई हेरेर जनताले ढुक्कसँग मतदान गर्न सक्छन्।“
उनले दाबी गरे कि वर्तमान अवस्थामा पार्टीभित्र कुनै पनि गुट वा उपगुट जीवित छैन। सबैको एउटै गुट छ– ’रुख’। यो एकता केवल नेताहरूका बिचमा मात्र होइन, तल्लो तहका कार्यकर्तासम्म पुगेको दाबी गरिएको छ। “फागुन १ देखि २१ सम्मको बसाईले बाँकी रहेका केही व्यक्तिगत मनमुटावलाई पनि मेट्नेछ र चुनावी परिणाम कांग्रेसको पोल्टामा ल्याउनेछ,“ घिमिरेले थपे।
उनले कांग्रेसलाई कम नआँक्न चेतावनी दिँदै भने कि कांग्रेससँग निर्वाचनको मैदानमा कसरी ‘सर्जिकल स्ट्राइक’ गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ। उनले आगामी निर्वाचनबाट नेपाली कांग्रेस मुलुकको पहिलो दल बन्ने दाबी गर्दै रामेछाप त्यसको प्रस्थान विन्दु हुने बताए। “हाम्रो तयारी र खड्काजीको लोकप्रियताले विपक्षीको निद्रा हराम गरिदिएको छ,“ उनले भने।
रामेछापका जनताले दशकौँदेखि विकास र सुशासनको पर्खाइ गरिरहेका छन्। कांग्रेसले यस पटक खड्काको नेतृत्वमा ‘विकास र सुशासन’ को ठोस खाका जनतामाझ लैजाने प्रतिबद्धता जनाएको छ। फागुन २१ गतेसम्मको यो विशेष अभियानले मतदाताको प्रत्येक गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
घिमिरेको रणनीतिक निर्देशन र रामचन्द्र खड्काको निष्कलंक व्यक्तित्वको फ्युजनले रामेछापमा कांग्रेसलाई निकै बलियो स्थितिमा उभ्याएको छ। फागुन १ देखि २१ सम्मको यो ‘मैदानी मोर्चा’ ले रामेछापको राजनीतिक भूगोलमा नयाँ रङ्ग भर्ने निश्चित छ।
यदि कांग्रेसले यो २१ दिने अनुशासन र खड्काको स्वच्छतालाई मतमा बदल्न सक्यो भने, रामेछाप ‘रुख’ मय मात्र हुने छैन, बरु यो देशैभरिका कांग्रेस कार्यकर्ताका लागि एउटा नमुना ‘रामेछाप मोडेल’ बन्न सक्छ।
नेता तथा कार्यकर्तालाई बुथमै बस्न घिमिरेको कडा निर्देशन
Shares:




