समाचार

गोकुलगंगाकाका कागजात अब डिजिटल प्रविधि मार्फत सुरक्षित हुँदै

रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात जलेर नष्ट भएपछि गोकुलगङ्गा गाउँपालिकाले कागजपत्र डिजिटलाइजेसनको काम सुरु गरेको हो। राष्ट्रिय सूचना प्रविधि केन्द्रको समन्वयमा अघि बढाइएको यो अभियान दुई महिनाभित्रै सम्पन्न हुने लक्ष्य पालिकाको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हालसम्म चार वर्षको कागजात डिजिटलाइजेसन भइसकेको छ भने बाँकी चार वर्षको काम तीव्र गतिमा भइरहेको छ। “अब बाँकी काम दुई महिनाभित्रै सक्ने तयारीमा छौँ,” उनले भने, “यसपछि गाउँपालिकामा रहेका पुराना र नयाँ सबै अभिलेख सुरक्षित डिजिटल प्रणालीमा रहनेछन्।”
भट्टराईका अनुसार ७५३ स्थानीय तहमध्ये यसरी व्यवस्थित रूपमा विगतका सबै कागजात डिजिटलाइजेसन गर्ने पहिलो गाउँपालिका गोकुलगङ्गा हो। “यो केवल कागज जोगाउने काम मात्र होइन, सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई आधुनिक बनाउने अभियान हो,” उनले भने। डिजिटल अभिलेखका कारण सेवाग्राहीले आवश्यक कागजात छिटो पाउने, कार्यालयको काम प्रभावकारी हुने र भविष्यमा कुनै पनि प्राकृतिक वा मानवीय क्षतिबाट अभिलेख जोगिने विश्वास पालिकाको छ।
गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले जेन्जी आन्दोलनले दिएको पीडादायी अनुभवबाट सिकेर गाउँपालिकाले दीर्घकालीन समाधानतर्फ कदम चालेको बताए। “कागजात जलेर नष्ट हुनु भनेको केवल फाइल हराउनु मात्र होइन, गाउँपालिकाको इतिहास र नागरिकको अधिकारमाथि खतरा हुनु हो,” अध्यक्ष खड्काले भने, “त्यसैले अब हाम्रो प्राथमिकता भनेकै सबै अभिलेखलाई डिजिटल रूपमा सुरक्षित बनाउनु हो।”
उनका अनुसार डिजिटलाइजेसनले भविष्यमा प्रशासनिक कामलाई पारदर्शी र उत्तरदायी बनाउनेछ। “अब कुनै पनि नागरिकले आफ्नो फाइल खोज्न महिनौँ कुर्नु पर्दैन, सूचना सुरक्षित पनि हुन्छ र पहुँचयोग्य पनि,” अध्यक्ष खड्काले थपे।
गोकुलगङ्गा गाउँपालिकाले राष्ट्रिय सूचना प्रविधि केन्द्रसँगको सहकार्यमा अभिलेख व्यवस्थापन प्रणाली, स्क्यानिङ, वर्गीकरण र सुरक्षित भण्डारणको काम गरिरहेको छ। कागजी फाइलहरूलाई क्रमशः डिजिटल फम्र्याटमा रूपान्तरण गर्दै सुरक्षित सर्भरमा राख्ने व्यवस्था मिलाइएको छ। यसले न केवल विगतका कागजात सुरक्षित गर्नेछ, भविष्यमा सिर्जना हुने सबै कागजात पनि डिजिटल प्रणालीमै अभिलेख हुनेछन्।
जेन्जी आन्दोलनपछिको संकटलाई अवसरमा रूपान्तरण गर्दै गोकुलगङ्गा गाउँपालिकाले सुरु गरेको यो अभियानले अब गाउँपालिकाको सात वर्षको सम्पूर्ण प्रशासनिक इतिहासलाई डिजिटल रूपमा सुरक्षित गर्नेछ। दुई महिनापछि काम पूरा भएसँगै गोकुलगङ्गा डिजिटल अभिलेख व्यवस्थापनमा अग्रणी स्थानीय तहका रूपमा स्थापित हुने अपेक्षा पालिकाको छ।

Shares:

Related Posts

समाचार

उपनिर्वाचन ः आज मनोनयन दर्ताकाठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म
समाचार

मेन्टरमाथि अधिकृतहरूको अमानवीय व्यवहार विरुद्ध उजुरी दर्ता

रामेछाप । बालबालिका संरक्षणको नारा बोक्ने ’सेतो गुराँस’ भित्रै मेन्टर महिलाहरूमाथि भइरहेको चरम मानसिक हिंसा, निकृष्ट चरित्र हत्या र श्रम शोषणको घटनाले सामाजिक संस्थाको मुकुण्डो उघारिदिएको छ । हाकिमहरूको स्वेच्छाचारी
समाचार

पुर्ण रुपमा चार घर सहित हावाहुरीका कारण एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य
समाचार

कर्मशील स्वास्थ्य सेवा बाट रामेछापका घिमिरे सम्मानित

रामेछाप । वरिष्ठ आयुर्वेदिक उपचारक विशेषज्ञ राजन घिमिरे कर्मशील स्वास्थ्य सेवा सम्मान २०८० द्वारा सम्मानित भएका छन् । घिमिरे विश्व उपभोक्ता महासंघ नेपालको ८ औ वार्षिक उत्सवका अवसरमा शुक्रवार सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *