रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर अनुगमन गरिएको थियो। टोलीले कुहिएको नरिवल, म्याद गुज्रेको मैदा र गुणस्तरीय मापदण्ड पूरा नगरेका चिउरा जफत गरी नष्ट गरेको जनाएको छ।
अनुगमन टोलीले खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर आसपासका पसलहरू, खाँडादेवी गाउँपालिकाको कार्यालय वरपरका पसल तथा होटलहरू र सित्खा बजारमा रहेको पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही पसलहरू दर्ता नगरि चलाईएका, केही पसल गाउँपालिकामा दर्ता गरिए पनि पान नं. नलिएको र केही पसल किरानाका लागि दर्ता गरिएको भए पनि मदिरा तथा फेन्सी समेत सँगै विक्रिवितरण गरिएको पाईएकोले नियमानुसार गर्न सुझाव दिईएको थियो ।
पर्वको समयमा गुणस्तरीय सामग्री उपभोक्तासम्म पुगोस भन्ने हाम्रो मुख्य उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज शर्माले बताए । अनुगमनले उपभोक्ताको हित सुरक्षित गर्ने मात्र होइन, व्यापारीलाई पनि जिम्मेवार बनाउने उनको धारणा थियो ।
जिल्ला अनुगमन समितिको सक्रियता र नियमित निरीक्षणले बजारमा विश्वास कायम राख्ने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले बताए । उनले अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यलाई ख्याल राखी गुणस्तरीय सामान बेचबिखन गर्न आग्रह गरे ।
अनुगमन टोलीले स्थानीय व्यापारी र उपभोक्तासँग सल्लाह–सुझाव संकलन गर्दै, भविष्यमा पनि यस्ता अनुगमन नियमित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल पत्रकार महासंघ रामेछापका सह–सचिव कुमार श्रेष्ठले भने, “पत्रकारिताले अनुगमनको सकारात्मक पक्ष र उपभोक्ता अधिकारको रक्षा प्रवद्र्धन गर्छ। यो कार्यले स्थानीय बजारमा विश्वास कायम गर्न मद्दत गरेको छ।”
अनुगमन कार्यक्रमले उपभोक्तामा विश्वास जागृत गर्दै गुणस्तरीय बजार सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्न सहयोग गरेको छ । अनुगमन टोलीले कुशल र व्यवस्थित रूपमा पसलहरूको निरीक्षण गरी पर्व नजिकिँदै गर्दा उपभोक्ताको हित सुरक्षित गर्ने कोसिस गरेको छ ।
तिहार लक्षित बजार अनुगमन
Shares: