रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मातहत सम्पन्न भइरहेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा हालै आएका अभिव्यक्तिहरूलाई आधारहीन ठहर गरेको हो।
दोरम्बा–१ का स्थानीय दावासाङ्बु शेर्पाले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष, ठेकेदार र इन्जिनियरलाई लक्षित गर्दै ग्याबियन प्रयोग, निर्माण प्रक्रिया र ठेक्का सम्बन्धी विषयमा टिप्पणी गरेका थिए। तर गाउँपालिकाले ती दाबीहरूलाई वास्तविकताभन्दा टाढा रहेको भन्दै खण्डन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “उक्त पोस्टमा गरिएको दाबी तथ्यहरूसँग मेल खान्न। त्यसैले आम नागरिकलाई यस्ता कपोलकल्पित, भ्रामक र व्यक्तिलक्षित दुष्प्रचारप्रति विश्वास नगर्न अनुरोध गर्दछौँ।”
योजना सम्बन्धी थप जानकारी लिन इच्छुक जोकोहीले प्रत्यक्ष सम्बन्धित निकायसँग सम्पर्क गर्न सकिने व्यवस्था रहेको जनाउँदै गाउँपालिकाले गलत सूचना प्रवाह गर्ने व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
त्यसमाथि, गाउँपालिकाले दाबी गर्ने व्यक्तिलाई आफ्ना आरोप सप्रमाण प्रस्तुत गर्न सार्वजनिक चुनौती पनि दिएको छ। विज्ञप्तिमा गाउँपालिकाले सडक निर्माणसहित सबै योजनामा पारदर्शिता कायम राख्दै जनविश्वासका साथ विकास कार्यलाई अघि बढाइने प्रतिबद्धता दोहो¥याएको छ ।
भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिका दियोले चुनौती
Shares: